मकवानपुरमा फेरि बढ्यो कोरोना, सक्रिय संक्रमित ६ सय नाध्यो

प्रहर संवाददाता
प्रहर संवाददाता
१४ श्रावण २०७८, बिहीबार १७:५७

हेटौंडा – मकवानपुरमा आघोषित रुपमा खुलाएको निषेधाज्ञाका कारण कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या बढेको छ । स्वास्थ्य कार्यलय मकवानपुरको तथ्याङ्क अनसार पछिल्लो केही दिनमा कोरोना संक्रमित हुने दिनानुदिन बढेको पाईएको हो ।

जिल्लामा आज बिहीबार ९९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको पिसिआर र ५१ जनाको एन्टीजन विधिबाट परीक्षण गर्दा क्रमशः ९१ जना र ८ जना गरी थप ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा सबैभन्दा बढी ७४ जना हेटौैंडा उपमहानगरपालिका भित्रका रहेका छन् । थाहा नगरपालिका भित्रका १० जना,मनहरी गाउँपालिका भित्रका ८ जना,बकैया भित्रका ३ जना,भीमफेदी भित्रका २ जना र बागमती तथा मकवानपुरगढी गाउँपालिका भित्रका १र१ जना रहेको कार्यलयलले जनाएको छ ।

यसअघि बुधबार जिल्लामा ६७ जनामा र मंगलबार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जिल्लामा हाल १२ हजार ८ सय २९ जनामा संक्रमित भएका छन् ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जनाले कोरोना जितेका छन् । जसमा होमआइसोलेशनबाट ३७ जना र संस्थागत आइसोलेशनबाट ७ जनाले कोरोना जितेका हुन् । यससंगै जिल्लामा कोरोना जित्नेको संख्या १२ हजार ३७ पुगेको छ ।

जिल्लामा हाल ६ सय बढी सक्रिय संक्रमित उपचाररत रहेका छन् । अघिल्लो सातको शुक्रबार ४ सय ९२ जना संक्रिय संक्रमित रहेकोमा अहिले बढेर ६ सय ६ जना पुगेको हो । जसमा ५ सय ५४ जना घरमा र ५२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा कोरोनाको कारण १ सय ४१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।