मकवानपुरमा आज एकैदिन ४ सय ३२ जनामा कोरोना पुष्टि, थप एकको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १५:३९

हेटौंडा – मकवानपुरमा कोरोनाको संक्रमण पुनः ह्वातै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न प्रयोगशालामा ११ सय ४५ जनाको कोरोना परिक्षण गर्दा ४ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी भीमफेदी गाउँपालिका भित्रका रहेका छन् । भीमफेदी स्थित भीमफेदी कारागार भित्रका ३ सय ५५ जना कैदी सहित ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै हेटौंडा उपमहानगरपालिकाका ५७ जना, मनहरीका ६ जना,मकवानपुरगढीका ३ जना,बकैयाका २ जना,थाहा र राक्सिराङका एक–एक जना रहेको छन् ।

जिल्लामा हालसम्म १३ हजार २ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने सक्रिय संक्रमित ९ सय ८० जना रहेका छन् । जसमा ९ सय ३१ जना होम आइसोलेशनमा र ४९ जना संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । जसमा होम आइसोलेशनबाट ५६ जना र संस्थागत आईसोलेशनबाट ७ जना रहेका छन् । यससंगै जिल्लामा कोरोना जित्नेको संख्या १२ हजार १ सय पुगेको कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१८ की ४८ वर्षीया महिला रहेकी छिन् । महिलामा दुई दिन अघि साउन १३ गते एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको साउन १४ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएकोमा आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको हो । यससंगै जिल्लामा कोरोनाका कारण हालसम्म १ सय ४२ जनाको मृत्यु भई सकेको छ ।