कैलाशमा माओवादीको प्रशिक्षण कार्यक्रम

प्रहर संवाददाता
प्रहर संवाददाता
२९ भाद्र २०७८, मंगलवार १६:३०

हेटौंडा – नेकपा (माओवादी केन्द्र) कैलाश गागपालिका ६ नम्बर वडा कमिटीको आयोजनामा वडा स्तरीय जबस भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
६ नम्बर वडास्थित मजुवामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, दलित, गरिब, सुकुम्बासीहरुको मुक्ति र अधिकारको निम्ति लड्ने पार्टी माओबादी मात्र भएको बताए ।

‘एमालेसंगको एकता त्यस वर्गको अधिकारलाई संस्थगत गर्नको निमित्त थियो । तर एमाले मुख्य नेतृत्व कम्युनिस्ट होइन रहेछ’, उनले भने, ‘नेकपा एमालेसँगको एकता गलत थिएन । एमाले नेतृत्व गलत हुँदा एकता सफल भएन ।’ एमालेभित्र जनताको लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम गराएर सिध्याउन खोज्ने जमात रहेको दाबी गर्दै पाख्रिनले व्यक्तिलाई धुरी बनाउनेहरु, जयजयकार गर्नेहरु,आइ लभ यु बा भन्नेहरुको जामत कम्युनिष्ट नभएको बताए । त्यस्ता पात्रहरुबाट देश विकास र समृद्धि असम्भव रहेको उनको भनाई छ ।

समाजवाद उन्मुख संवैधानिक संघीय गणतान्त्रिक व्यवस्थालाई संस्थागत विकास र समृद्धि गराउन वडा र गाउँलाई माओवादीमय बनाउने अभियानमा लाग्न उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे । माओवादी बिचारबाट मात्रै वडा र गाउँ विकास र समृद्धि सम्भव रहेको पाख्रिनले बताए ।

भेलाले जीवन मोक्तान अध्यक्ष रहनेगरी २५ सदस्यीय वडा वाइसीएल कमिटी घोषणा गरेको छ । कमिटिको उपाध्यक्षमा राम बहादुर पाख्रिन, सचिवमा गणेश घलान, सह–सचिवमा देविन्द्र थापा मगर, कोषाध्यक्षमा सुष्म रुछाल मगर, सदस्यहरुमा डम्बर बहादुर घले, सहादेव कार्की, प्रशान्त वाइबा लगायत रहेका छन् ।

वडा पार्टी कमिटी अध्यक्ष तुलराज दर्लामी मगरले सञ्चालन गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कैलाश गाउपालिका कमिटी इन्चार्ज बाल कुमार मल्ल, गाउँपालिका अध्यक्ष लालसिं गुरुङ, सदस्य बुद्धिराज गिरी, अमर घले, वाइसीएल गाउपालिका कमिटी अध्यक्ष मिलन तामाङ लगायतका आतिथ्यता रहेको थियो ।