अग्रता जोगाउन नसक्दा नेपाल पराजित

प्रहर संवाददाता
प्रहर संवाददाता
२ आश्विन २०७८, शनिबार १८:०७

काठमाडौं – एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल अग्रता जोगाउन नसक्दा फिलिपिन्ससँग पराजित भएको छ । शनिबार उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो ।

बलियो टिम फिलिपिन्सविरुद्ध नेपालले खेलको १० औं मिनेटमा विमला चौधरीको गोलमा अग्रता बनाएको थियो । दोस्रो हाफको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा नेपालले हार ब्यहोरेको हो ।

फिलिपिन्सका लागि खेलको ८९ औं मिनेटमा तहनाइ एन्निसले गोल गर्दै खेल १–१ गोल बराबरीमा ल्याईन् । फिलिपिन्सकी विल्सन केमिलीले इन्जुरी समयमा गोल गर्दै फिलिपिन्सलाई २–१ को जित दिलाईन् ।

जितसँगै समूह एफ मा रहेको फिलिपिन्स ३ अंक जोडेको छ । नेपालले दोस्रो खेल मंगलबार हङकङसंग खेल्ने छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।