बागमती प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सुरक्षा चेकजाँच सामाग्री वितरण

प्रहर संवाददाता
प्रहर संवाददाता
२५ आश्विन २०७८, सोमबार १८:१८

हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले ट्राफिक व्यवस्थापन तथा सुरक्षा चेकजाँच सामाग्री वितरण गरेको छ । बागमती प्रदेश अन्तर्गत बढ्दो सवारी दुर्घटना न्युनिकरणका निमित्त ट्राफिक व्यवस्थापन एवम् सुरक्षा चेकजाँचलाई प्रभावकारीता दिन पोर्टेबल ब्यारिकेड वितरण गरिएको हो ।

सवारी दुर्घटना तथा विभिन्न अपराधिक घटना घटाई सवारी साधनको प्रयोग गरी अपराधी फरार हुने हुँदा उक्त कार्यलाई रोक्न भरपर्दो सुरक्षा चेकजाँचका निमित्त प्रदेश अन्तर्गतका विभिन्न प्रहरी ईकाईहरुलाई वितरण गरिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । प्रहरीलाई साधनस्रोत सम्पन्न गराई समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्युनिकरणका लागि अत्यावश्यक सुरक्षा सामाग्रीहरु व्यवस्थापन गर्ने उद्देश्यका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १२ थान पोर्टेबल ब्यारिकेड उपलब्ध गराई मातहत जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुमा वितरण गरी प्रयोगमा ल्याईएको प्रवक्ता अधिकारीले बताए ।

बागमती प्रदेशमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न तथा अत्यावश्यक सुरक्षा सामाग्रीहरुको व्यवस्थापनका निमित्त विभिन्न किसिमका कार्ययोजना तथा अवधारणापत्रहरु तयार गरी कार्यान्वयन गरिरहेको प्रवक्ता अधिकारीले बताए । थप उपकरणहरु उपलब्ध गराउनका निमित्त विभिन्न सरोकारवाला निकायहरु तथा प्रदेश सरकारसंग नियमित समन्वय र सहकार्य गरी अवधारणापत्र समेत पेश गरि सकिएको उनले जानकारी गराए ।