बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

रासस
२६ आश्विन २०७८, मंगलवार १६:३३

काठमाडौं –  मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख १६७ नम्बरको बस पिनामा खोलामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दशैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

बसमा ३९ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तीन सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थल अफ्ठ्यारो ठाउँमा रहेकाले एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा डिएसपी चित्रबहादुर भट्टराईसहितको टोली पुगेर उद्दारको प्रयास गरिरहेको बताइएको छ । उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।