प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

तीर्थयात्रु बोकेको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

२०७९ पौष ९, शनिबार १२:३४ बजे

भारत– तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने एक वर्षीय बालकसहित दुई जना घाइते भएका छन्।

अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरू सबरीमालाको दर्शन गरेर घर फर्कदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो।

उनीहरू कुमुली पहाडी सडक इराइचलपलम नजिक पुग्दा सो कार खाडलमा खसेको थियो। ‘थेनी जिल्लाको कुमुली पहाडको भञ्ज्याङमा सो कार ४० फिट गहिरो खाडलमा खस्दा आठ श्रद्धालुको मृत्यु भएको छ,’ थेनीका जिल्ला कलेक्टर केभी मुरलीधरनले बताएका छन्। उनले दुई जनालाई उद्धार गरी अस्पताल लगिएको पनि बताएका छन्।

उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालकसमेत रहेका छन्। गम्भीर घाइते भएका उनीहरुलाई नजिकैको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। कार सडकबाट करिब ४० फिट तल खस्दाको थियो । दुर्घटनाबारे अनुसन्धान जारी छ।