हेटौंडा – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरको १ सय ६५ वटै मतदानस्थलमा आवस्यक सामग्रीसहित निर्वाचनमा खटाइएका कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । उनीहरु निर्वाचनका लागि आवश्यक तयारीसहित मतदान केन्द्र पुगेका हुन् ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार निर्वाचनको आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको बताए । कर्मचारी र सुरक्षाकर्मी बिहिबार साँझ नै जिल्लाका सबै स्थानीय तहमा रहेका १ सय ६५ मतदानस्थलका ३ सय ५६ केन्द्रमा पुगेका कर्मचारीले निर्वाचन तालिका सम्बन्धी सार्वजनिक सूचना टाँस गरेको निरौलाले बताए ।
आज मतदान अधिकृतहरुले सर्वदलीय बैठक राख्दै निर्वाचनका अन्य प्रक्रिया समेत अगाडि बढाउइएको निरौलाले बताए । मकवानपुरमा म्यादीसहित तीन हजार दुई सय सुरक्षाकर्मी र करिब दुई हजार ६ सय कर्मचारी निर्वाचन प्रयोजनमा खटाइएको छ ।
चुनावमा खटिएका कर्मचारीले तोकिएको निर्वाचन अधिकृतको कार्यालबाट मतपत्र, मतपेटिका, छेकबार, स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ७३ प्रकारका निर्वाचन सामग्री बुझेरे मतदान केन्द्रमा पुगेका हुन् ।
मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र वरिपरि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाईएको छ । चुनावको सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना खटिनेछन् । एक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एकसहित आठ जना कर्मचारी रहने व्यवस्था छ ।