प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

यस्तो छ नेपालसँग खेल्ने भारतीय क्रिकेट टोली, नेपालले जित्ने सम्भावना कति ?

२०८० आश्विन १५, सोमबार १७:१३ बजे

हेटौंडा – १९ औं एसियाली खेलकुद अन्तर्गत टि२० आईमा नेपालले भारतसँग खेल्ने भएको छ । समूह चरणको दुवै खेलमा शानदार जित सहित क्वार्टरफाइनल पुगेको नेपालको प्रतिद्धन्दी भारत परेको हो ।

क्वार्टरफाइनलको ड्र अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो पटक भारतसँग टि२० आई खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६:४५ मा सुरु हुनेछ ।अघिल्लो महिना एसिया कपमा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग खेलेको थियो । 

क्वार्टरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बंगलादेशले मलेसियासँग, श्रीलंकाले अफगानिस्तानसँग खेल्नेछ । नेपालले अन्तिम ८ मा भारतलाई हराएको खण्डमा पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ ।

नेपालले समूह चरण मंगोलियाविरुद्ध कीर्तिमानी २ सय ७३ रनको जित र माल्दिभ्सविरुद्ध १ सय ३८ रनको शानदार जित निकालेको थियो ।

 

यस्तो भारतीय टोली
भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । सबै टेस्ट टोलीले विश्वकपको कारण दोस्रो रोजाईको टोली नै पठाएका छन् ।

भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । भारतको यस टोलीलाई २०२४ को विश्वकप खेल्ने खेलाडीको रुपमा हेरिएको छ ।

भारतबाट लगातार टि२० आई टोलीमा खेल्दै आएका डेथ ओभर स्पेलिष्ट अर्शदीप सिंह टोलीमा छन् । भारतीय ब्याटिङका भविष्य मानिएका रिंकु सिंह, युवा ओपनर यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, जितेश शर्मा र शिबम दुबे पनि टोलीमा छन् ।

एसियाडमा आएका भारतीय टोलीका १४ जनामध्ये ११ जना भारतीय राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । उक्त टोलीलाई निकै बालियो टिम मानिएको छ ।

भारतको टोली
ऋतुराज गायकवाड (कप्तानं), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, शाहवाज अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिभम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह ।
वैकल्पिक खेलाडी – यश ठाकुर, साई किशोर, वेंकटेश ऐर, दीपक हुडा र साई सुदर्शन ।

नेपालले भारतलाई जित्ला ?
नेपालले पहिलो पटक भारतसँग टि२० आई खेल खेल्न लागेको हो । अघिल्लो महिना सम्पन्न एकदिवसीय एसिया कपमा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग खेलेको थियो ।

श्रीलंकाको कान्डीमा भएको उक्त खेलमा नेपालले भारतससँग १० विकेटले पराजित भएको थियो । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।

बर्षाका कारण २३ ओभरमा घटाएपछि भारतले १४५ रनको लक्ष्य पाएको थियो । भारतले उक्त लक्ष्य एक विकेट पनि नगुमाई १७ बल बाँकी रहँदै पुरा गरेको थियो ।

एसियाली खेलकुद अन्तर्गत मंगलबार हुने भारतविरुद्ध खेल नेपालको लागि राम्रो चुनौती र आफुलाई प्रमाणित गर्ने अवसरको रुपमा रहेको क्रिकेट विश्लेषकहरुले विश्लेषण गरेका छन् ।

सधै कमजोरी टोलीसंग खेलेर विश्वकप खेल्ने र च्याम्पियन बन्न नसक्ने भएकोले राम्रो टोलीलाई हराउन सके नेपाली क्रिकेट स्तर विश्वस्तरमा वृद्धि हुने विश्लेषकहरुले धारणा व्यक्त गरेका छन् । नेपाल टोली राम्रो लयमा रहेकोले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको खण्डमा भारतविरुद्ध जित निकाल्न सक्ने विश्लेषकहरु बताउँछन् ।

विश्वरेकर्डर अलराउण्डर दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल राम्रो लयमा रहेका छन् । त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, गुल्छन झा राम्रो लयमा रहेका छन् । बलिङ्गतर्फ अभिनास बोहोर, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामीको राम्रो प्रर्दशन रहेका छ ।

“टि–२० खेलमा ब्यटिङ गर्ने खेलाडीको महत्वपूर्ण भूमिका रहने भएकोले नेपाली ब्याटरहरुले राम्रो ब्यटिङ गर्नुपर्ने हुन्छ । ब्यटिङ्ग र बलिङ दुबैतर्फबाट नेपालले आफ्नो बेस्ट क्रिकेट खेल्ने हो भने भारतविरुद्धको खेल जित्न पनि सक्छौँ,” एक क्रिकेट विश्लेषकले भने ।

नेपाली क्रिकेट टोली
कप्तान रोहित पौडेल, करण केसी, प्रतिस जीसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने।