प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

बागमती प्रदेशमा चालक अनुमतिपत्रमा अङ्क प्रणाली लागू हुने

२०७९ माघ २१, शनिबार ०२:५२ बजे

हेटौंडा – बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सुरु गर्न लागेको सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली अब कार्यान्वयनमा आउने भएको छ । मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच विवादका कारण यसअघि तीन पटक कार्यान्वयनमा ल्याउन मन्त्रालयले निर्णय गरे पनि मुख्यमन्त्री कार्यालयको निर्देशनमा रोकिंदै आएको थियो ।

मन्त्रालयले गत असोज, मङ्सिर पछिल्लो पटक गत पुस २० गतेबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) मा नयाँ अङ्क भार प्रणाली अर्थात् ७० प्रतिशत अङ्कभारको नयाँ नियम लागू गर्न निर्णय गरी कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको थियो । तर, मन्त्रालय र प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबीचको विवादका कारण कार्यान्वयन गर्न लागेको नयाँ अङ्कभार प्रणाली रोकिएको थियो ।

यातायात मन्त्रालयले नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन सबै तयारी पूरा गरेको अवस्थामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त प्रणालीको उपयोगिता र कसरी लागू गर्ने सुझावसहित प्रतिवेदन पेस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्दै तत्काललाई नयाँ प्रणाली कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले समितिले आफ्नो प्रतिवेदन प्रदेशका प्रमुख सचिवलाई बुझाइसकेको भन्दै अब नयाँ प्रणाली तत्कालै कार्यान्वयनमा आउने जानकारी दिनुभयो । सवारीचालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याए उत्तीर्ण हुने व्यवस्था कार्यान्वयन गर्न मन्त्री र मुख्यमन्त्री दुवै सकारात्मक हुनुहुन्छ, प्रवक्ता पोख्रेलले भन्नुभयो, यही महिनाको २५ गतेबाट लागू गर्ने तयारीमा छौं। मङ्गलबार अध्ययन प्रतिवेदन प्राप्त भइसकेको र मुख्यमन्त्रीस्तरीय निर्णयबाट नै नयाँ प्रणाली कार्यान्वयनमा आउने उहाँले बताउनुभयो ।

सेवाग्राहीलाई सहज

ट्रायल सेन्टर सञ्चालकको चलखेलका कारण नयाँ प्रणाली कार्यान्वयनमा नल्याइएको अनुमान गरिएको छ । अहिलेको प्रणालीबाट ट्रायल सेन्टर सञ्चालकले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन जाने सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने गरेको आरोप लाग्दै आएको छ । मन्त्रालयले प्रयोगात्मक परीक्षा (ट्रायल) दिन जाने सेवाग्राहीको सामान्य त्रुटि हुँदासमेत अनुत्तीर्ण भई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वञ्चित भएको र प्रक्रिया झन्झटिलो भएको भन्दै नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षामा ७० प्रतिशतको अङ्कभार ल्याएर उत्तीर्ण हुने व्यवस्थाले सवारी दुर्घटनाको जोखिम नबढ्ने जिकिर मन्त्रालयको छ । नयाँ प्रणाली लागू भएपछि ट्रायल परीक्षामा अहिलेको भन्दा ३० देखि ४० प्रतिशत बढी प्रशिक्षार्थी उत्तीर्ण हुने अनुमान छ । यसअघि लिखित परीक्षामा २० वटा प्रश्न सोधिने गरेकोमा नयाँ प्रणाली लागू भएपछि सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा २५ वटा प्रश्न सोधिने भएको छ । लिखित परीक्षामा पहिलो ५० अङ्क ल्याउने उत्तीर्ण हुने प्रावधान रहेकोमा नयाँ प्रणाली लागू भएपछि ६० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।