काठमाडौं – सिन्धुलीको सुनकोशी गाउँपालिका-७ कानढुंग्रीस्थित विपी राजमार्ग सडकखण्डमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको माइक्रो गाडी बिहीबार साँझ साढे ५ बजे दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका-१० का ५० वर्षीय निर्मल गुप्ताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीको टायर अचानक पन्चर भएपछि अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिलकुमार खड्काले जानकारी दिए।
दुर्घटनामा १२ जना घाइते भएका छन्। तीमध्ये ६ जनालाई बिहीबार नै काठमाडौं रेफर गरिएको थियो। उनीहरमध्ये ४ जना सामान्य र दुई जनाको स्वास्थ्य मध्यम छ।बाँकी ६ जनाको सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये २ जना मध्यम र चार जना सामान्य घाइते छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए।