प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

विभिन्‍न घटनामा संलग्‍न‍ ६ जना मकवानपुर प्रहरीको फन्दामा

२०७९ असार १६, बिहीबार २०:२९ बजे

हेटौंडा – मकवानपुर प्रहरी विभिन्न घटनामा संलग्न ६ जनालाई फरक–फरक स्थानबाट पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्रोत नखुलेको रकम सहित दुई–दुई, लेनदेन र चेक अनादर मुद्दाका एक–एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित पुर्व–पश्चिम सडकखण्डमा चितवनबाट हेटौडातर्फ आउदै गरेको ना ७ ख ६०५९ नम्ब।को बसबाट १५ किलो लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । बसमा सवार चितवन राप्ति नगरपालिका–११ बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र २३ वर्षीय अकल बहादुर प्रजालाई उक्त गाँजासहित पक्राउ गरिएको हो । 

त्यस्तै मनहरी गाँपालिका–९ बाट स्रोत नखुलेको १० लाख ३५ हजार २४० रुपैयाँसहित सोही स्थानकी कल्पना घलान र कैलाश गाउँपालिका–१ बस्ने ५३ वर्षीय सानुकान्छा योन्जनलाई पक्राउ गरेको छ । मनहरी–९ खराङगस्थित कल्पनाको घरमा जाँचका क्रममा कोठामा राखेको मधेश प्रदेश ०३–०२३ प ३१७२ नंबरको मोटरसाईकलको सिटमुनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  प्रहरीका अनुसार सानुकान्छा लागुऔषध मुद्धाका फरार प्रतिबादी समेत हुन् । उनलाई प्रहरीले २०७७ फागुन २३ गतेदेखि लागुऔषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राम सहित पक्राउ गरेको थियो । 

यसैगरी लेनदेन मुद्दाका फरार प्रतिबादी हेटौंडा–१९ बस्ने ३३ बर्षीया तुलशा बिष्ट र चेक अनादर मुद्दाका फरार प्रतिबादी हेटौडा–१९ बस्ने ३६ वर्षीय सुक बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत मकवानपुरले विभिन्न मितिमा जारी गरेको पत्र आदेश अनुसार दुबैलाई पक्राउ गरी अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।