हेटौंडा - मकवानपुर जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा स्रोत नखुलेको विदेशी मुद्रा सहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उत्तर प्रदेश र राजस्थानका तीन जना भारतीय नागरिक रहेका छन्।
पक्राउ परेका भारतीय नागरिकहरू उत्तर प्रदेशका विजय सिंह कुशवाह,प्रशान्त पाठक र राहुल कुमार माण्डावत रहेका छन् । उनीहरुको साथबाट अमेरिकी डलर ३२ हजार र युरो १४ हजार विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त बिदेशी मुद्रा नेपालको बजार मूल्य अनुसार ६२ लाख ९० हजार ०३५ रुपैया रहेको छ ।
२०७८ मंसिर ९ गते राति करिब ८:४५ बजे हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित चौकीटोलको चेकपोइन्टमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा,प्र.०३-००१ ज ०७६५ नम्बरको ईभी माइक्रोबसलाई रोकेर चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा यात्रुहरूले बोकेको झोला र शरीरमा स्रोत नखुलेको विदेशी मुद्रा फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका नागरिकहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर अनुसन्धान अघि बढाइएको छ। उक्त विदेशी मुद्रा गैरकानुनी रूपमा ल्याएको आशंकामा थप कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, मिनभवन, ललितपुर पठाउने तयारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काका अनुसार, यो घटना गैरकानुनी गतिविधि हुन सक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूले विदेशी मुद्राको कुनै आधिकारिक स्रोत प्रस्तुत गर्न नसकेको बताए।