हेटौंडा – कतारमा भएको विश्वकप फुटबलको उपाधि आफ्नो टिमले जित्ने दाबी गर्दै समर्थकहरु मन पर्ने टिम र खेलाडीको चित्र कापिको पन्नामा कोर्नेदेखि शरीरमा ट्याटो खोपे । भगवानप्रति विश्वास भएरै होला, ग्रहशान्ती गरेको भन्दै समाचार भाइरल नै भयो ।
कति फुटबल प्रेमी दर्शकको दाबी मिल्यो, कतिको मिलेन आइतबार रातिनै सम्पन्न भएको अर्जेन्टिना र फ्रान्सबीचको खेलले निर्धारण गरिसक्यो । गएरातिको खेलको नतिजाले अर्जेन्टिनाका समर्थकहरु आ–आफ्नो तरिकाले खुशी साटासाट गरिहेका छन् ।
तर, हेटौंडाका एक युवा सडकमा फोहोरसँग खुशी साटासाट गरेका छन् । अर्जेन्टिनाले विश्वकपको ताज हासिल गरेको खुसियालीमा हेटौंडा उपहानगरपालिका वडा नं.१७ निवासी प्रदिप थापाले सरसफाई गरेका हुन् ।
कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौंडा–१७ कै सालक पार्कबाट थापाले सडकमा भएका फोहोर संकलन सुरु गरेका हुन् । उनले फोहोर हाल्ने बोरा, बोक्ने रिक्सासंगै नेपाल र अर्जेन्टिनाको एक–एक थान झण्डासंगै आई लभ मेस्सी लिखित तस्वीर लिएर सरसफाई सुरु गरेका थिए ।
सालकपार्कबाट बिहान ७ बजेबाट फोहोर संकलन गर्दै थापा साँझ ४ बजे हेटौंडा–५ स्थित आईपुग्दा फोहोरको बोराले रिक्सा भरि सकेको थियो । सामाजिक सञ्जालमा अर्जेन्टिनाको समर्थकको चहलपहल नियन्त्रण भन्दा बाहिर थियो । तर, थापा सयौँ हजारौँ सवारी गुडिरहेको कान्तिलोकपथ सडकको किनारमा एक्लै फोहोर संकलन गर्दै देखिन्थे ।
थापा डिभिजन वन कार्यालय मकवानपुरका कर्मचारी हुन् । सामाजिक जनचेतनासंगै वातावरणको स्वच्छता कायम राख्न मद्दत हुने भएकोले अर्जेन्टिनाले जितेको खुशीमा सडक सरसफाई गरिएको थापा बताउँछन् । थापा यसअघि बढ्दो वन डढेलो नियन्त्रणको सन्देश सहित हेटौंडाबाट ताप्लेजुङसम्मको साइकल यात्रा गरेका थिए ।
भिडियो