हेटौंडा – इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन्।
एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।