प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

बुढ्यौली साहित्य समाज सप्तरी गठन

२०८० कार्तिक २४, शुक्रबार १९:४९ बजे

नानीमैया कटवाल
राजविराज – जति बाँचिन्छ उर्जावान भएर बाँचौँ भन्ने भावनाका साथ सप्तरीको कञ्चनरुपमा कात्तिक २४ गते शुक्रकार सम्पन्न साहित्यकारहरूको भेलाले ‘बुढ्यौली साहित्य समाज सप्तरी’ गठन गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जयन्तीको अवसर पारेर सप्तरीका साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भेलाले वयोवृद्ध साहित्यकार तथा सर्वोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तिर्थराज उपाध्यायको अध्यक्षतामा सात सदस्यीय ‘बुढ्यौली साहित्य समाज सप्तरी’ गठन गरेको हो ।

वृद्धावस्था केन्द्रित साहित्य लेखनलाई अघि बढाउने उद्देश्यका साथ कञ्चनरुपस्थित डेफोडिल अंग्रेजी माध्यमिक विद्यालयमा सम्पन्न भेलाले उपाध्यक्षमा मिना साह, सचिवमा मनोहर पोखरेल, कोषाध्यक्षमा दुर्गा दाहाललाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा शिवा निरौला, रामकुमार चौधरी र मेघराज पौड्याललाई चयन हुनु भएको छ । कार्यक्रममा उपस्थित साहित्यकारहरु तिर्थराज उपाध्याय, मनोहर पोखरेल, मेघनाथ पौड्याल, मिना साह, दुर्गा दाहालले लक्ष्मी सन्दर्भ र बुढ्यौली अवस्था केन्द्रित आआफ्नो कविता, लघुकथा, मुक्तक वाचन गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले बुढ्यौली अशक्तता, विस्मृति र विलौनाको सागर मात्र नभएर विचार, अनुभव र अनुभूतिको सगर पनि भएको बताउनु भयो । “आफ्नो अतीतलाई सम्झिएर वर्तमानमा केही गर्ने अवसर पनि भएकोले जति बाँचिन्छ उर्जावान भएर बाँचौँ, सन्तति र समाजको लागि धेरै बाँचियो अब आफ्नो लागि केही गर्नको लागि बाँचौँ” उपाध्यायले बताउनु भयो ।

फुर्सदीले वृद्धवृद्धालाई एक्लोपनको अनभूति हुने भएकाले बुढ्यौली साहित्य समाजले जेष्ठ नागरिकहरूको आवाज बोल्नु पर्ने वक्ताहरुले बताए । सामाजिक सभ्यता, संस्कार र संस्कृतिको परिवर्तनसँगै साहित्य र अन्य क्षेत्रको विकास र सन्दर्भअनुसार व्यापक क्षेत्र ओगट्दै धर्म, मानवशास्त्र, मनोविज्ञान, संस्कृति, समाज, भाषा, साहित्य, दर्शन तथा इतिहाससँग बुढ्यौली साहित्यको विषयलाई प्रस्तुत गर्न सकिने वक्ताहरुले बताए ।

सप्तरीमा सर्वप्रथम गठन भएर कार्य प्रक्रिया अगाडि बढाएको बुढ्यौली साहित्य समाजले नेपाली, मैथिली र अन्य स्थानीय भाषाहरुको विकास विस्तार तथा अग्रजहरुको प्रतिभालाई संरक्षण र पुस्तान्तरण गर्दै जाने उद्देश्य राखेको मेघनाथ पौड्यालले बताए ।