प्रहर खबर
 २०८१ मंसिर २८, शुक्रबार    

मकवानपुरका प्रजिअ चिलुवाललाई नारायणी यातायातमा स्वागत

२०८१ जेठ २९, मंगलबार ०७:२९ बजे

हेटौंडा – मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई नारायणी यातायात ब्यवसायी संघले सोमबार स्वागत गरेको छ ।

संघका अध्यक्ष हीरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको स्वागत कार्यक्रममा संघका महासचिव सरोजकुमार खनाल, पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाई, संघका कानूनी सल्लाहकार आइआर ढकाल, सल्लाहकार भानुभक्त आचार्यलगायत यातायात ब्यवसायी, कर्मचारीको उपस्थिति थियो । नेपालको सार्वजनिक यातायात (ढुवानी) को क्षेत्रमा सरकारको लगानी शुन्य रहेको र निजी क्षेत्रको ठूलो हिस्सा लगानी रहेको यातायात क्षेत्र ब्यवस्थित बन्न नसकेको ब्यवसायीले गुनासो गरेका थिए ।

संघका अध्यक्ष श्रेष्ठले भारतीय मालबाहक सवारी साधनले नेपालको कुनैपनि सहरमा निर्वाध रुपमा मालसामान ढुवानी गरिरहेको र नेपाली लगानी रहेको ट्रकले काम नपाएर बस्नुपर्दा लगानी नै जोखिममा परेको बताए । हजारौं युवालाई रोजगारी दिएको र सरकारले अरर्बौं राजश्व उठाइरहेको सार्वजनिक यातायात क्षेत्रलाई ब्यवस्थित गर्न सरकार उदासिन रहेको अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल सरकारले १५ वर्ष अघि निर्धारण गरेको दुर्घटनाको क्षतिपूर्ति समयसापेक्ष परिवर्तन गरिनुपर्ने, नेपाल भारतको सीमाक्षेत्रबाट नेपाली साधनले मात्र सामान बोक्न पाउनुपर्ने, यातायात ब्यवसायलाई पनि उद्योगसरह मान्यता दिई कर्जामा सुबिधा दिनुपर्ने, आर्थिक मन्दीका कारण ब्यवसायीहरु पलायन हुने अवस्थामा रहेकोले ब्यवसायीको लगानी संरक्षण हुनुपर्ने लगायतका विषयमा अध्यक्ष श्रेष्ठले प्रजिअ चिलुवालसमक्ष राखेका थिए ।

संघका महासचिव खनालले संघले ब्यवसायिक काम बाहेक सामाजिक उत्तरदायित्व बहन गरिरहेको, शिक्षा, स्वास्थ्य, यातायात, खेलकुद जस्ता पूर्वाधारमा सरकारसँग हातेमालो गरिरहेको बताए । संघका पूर्वअध्यक्ष चौलागाईले संघले ब्यावसायिकतासँगै सामाजिक कार्यमा सरकारी निकायसँग सहकार्य गर्दै आएको बताए ।

प्रजिअ चिलुवालले देशकै सबैभन्दा धेरै यातायात ब्यवसायी आवद्ध रहेको नारयणी यातायात ब्यवसायी संघ ब्यवस्थित रुपमा संचालन भएकोमा खुशी ब्यक्त गरे । नागरिकको यात्रालाई सहज र सरल बनाउने, मालसामा ढुवानीमा राज्यलाई सघाउने कार्यसँगै अर्थतन्त्रमा समेत योगदान रहेको यातायात ब्यवसायीको समस्या समाधानमा सहकार्य गर्न आफू तयार रहेको बताए ।