प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मनहरी खोलाले बगाउँदा बेपत्ता महिलाको शव भेटियो

२०७९ भाद्र ६, सोमबार ००:३९ बजे

हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिका—१० स्थित शनिबार मनहरी खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । ४६ वर्षीया माइलीमाया जिम्वाको शव धाधरस्थित मनहरी खोलामा आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । 

माइलीमायासँगै खोला तर्ने क्रममा बगाएर बेपत्ता भएकी कैलाश गाउँपालिका—१० की ३३ वर्षीय सन्जुमाया चेपाङको शव आइतबार बिहान भेटिएको थियो । 

शनिबार भुपटारस्थित मनहरी खोला तर्ने क्रममा उनीहरू दुवैलाई खोलाले बगाएपछि बेपत्ता भएका थिए । उनीहरूको खोजीको क्रममा आइतबार बिहान सन्जुमायाको शव भेटिएको हो भने दिउँसो मात्रै माइलीमायाको शव भेटिएको हो । 

माइलीमायाको शव खोलाले बगाएको स्थानबाट २ सय मिटर तल फेला परेको थियो । सन्जुमायाको शव भने खोलाले बगाएको स्थानबाट झण्डै ४ किलोमिटर तल फेला परेको थियो । 

शनिबार साँझ धाधरका एक कृषकको धान गोडेर घर फर्कने क्रममा तीन जना महिलालाई मनहरी खोलाले बगाएको थियो । उनीहरूसँगै रहेकी विमला विकलाई भने शनिबार साँझ नै घाइते अवस्थामा उद्धार गरिएको थियो । 

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तीनै जना एकै गाउँका हुन् । मनहरी खोला तर्ने क्रममा माथिबाट एक्कासी बाढी आएकाले उनीहरुलाई बगाएको वडाध्यक्ष सूर्यकान्छा तामाङले बताए ।ईकान्तिपुरबाट