प्रहर खबर
 २०७९ भाद्र २, बिहीबार    

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

२०७९ जेठ १६, सोमबार २१:४० बजे

हेटौंडा – बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभा सचिवालयमा प्रस्तुत गरिएको छ । बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् । प्रदेशसभामा शर्माले विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तिमा एक विद्यालयमा नमूना बाल बिकास केन्द्र संचालन गरिने उनले बताए ।

गुरु योजना स्वीकृत भएका आवासीय विद्यालयकाहरुको भौतिक विकास गर्नुको साथै नमूना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने उनले उल्लेख गरे ।

सामूदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरु स्थापना गरिने प्रदेश प्रमुख शर्माले बताए । बागमती प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने उनले बताए ।

उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको उनले बताए ।

साथै, प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापन गर्ने भएको छ । पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने उनले बताए ।