प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

रबि लामिछाने हिरासतमा

२०८१ पौष २८, आईतबार १७:०२ बजे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वगृहमन्त्री लामिछानेलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा पठाउने आदेश दिएको छ। थुनछेक बहस नभएपछि उनलाई अदालतबाट प्रहरीको जिम्मा लगाइएको हो।

लामिछानेलाई थुनछेक बहसका लागि भोलि पुनः अदालतमा उपस्थित गराइने छ। आज न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएपछि उनलाई हिरासतमा पठाइएको हो।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रहरीको अनुसन्धानअनुसार सहकारीका ५,६६९ जना बचतकर्ताको कुल २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको पाइएको छ। यसै क्रममा गोर्खा मिडिया नेटवर्क प्रालिमा मात्र ६४ करोड ८३ लाख ३८ हजार ४६५ रुपैयाँ कारोबार भएको खुलेको छ।


यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए। त्यहाँ लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी बुझाएर रिहा भएका थिए। तर, लीला पछाईँ धरौटी रकम नबुझाउन सकेपछि कारागारमै थुनामा छिन्।

सहकारी ठगी प्रकरणमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई, दीपक लामा, कुमार रम्तेल, र व्यवस्थापक नवीन अछामीलगायत ३९ जना प्रतिवादी छन्। उनीहरूविरुद्ध चितवन, रूपन्देही र पर्साका विभिन्न सहकारी प्रकरणमा समेत मुद्दा दायर भइसकेको छ।

प्रहरीका अनुसार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अहिलेसम्म ६९० जनाले ९३ वटा जाहेरी दिएका छन्।