प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

५० मिटरको सडक, मुख्यमन्त्री पाण्डे ‘३२ मै रोकिए’

२०७९ भाद्र २९, बुधबार ०३:११ बजे

हेटौंडा – भौतिक पूर्बाधार तथा योजना मन्त्रालय अन्तर्गत सडक बिभाग, आयोजना निर्देशनालय (एडीबी) भन्छ ‘दायाँबायाँ २५/२५(५०) मिटर’ । अनि व्यवसायी भन्छन् ‘दायाँबायाँ १६–१६(३२) मिटर’ । यो कुरा हो, पुर्वपश्चिम राजमार्गमा पर्ने हेटौंडा बजार क्षेत्रको सडक विस्तारको ।

सडक विस्तारको चर्चा मात्रै छ । काम भने अझै सुरु भएको छैन । निवर्तमान मेयर हरि बहादुर महतले ५० मिटरकै सडक विस्तार गर्न चाहान्थे । उनलाई आफ्नै पार्टीका तात्कालिन मुख्यमन्त्री डोरमणी पौडेलको साथ मिलेन । त्यसबेला पौडेलले बजार क्षेत्रबाट राजमार्ग विस्तार गर्न नहुने भनेका थिए ।

सडक विस्तारमा हालकी मेयर मिना कुमारी लामा सर्वोच्च अदालतको आदेशको प्रतिक्षामा छिन् । उनले एक टिभी अन्तरर्वातामा अदालतको आदेश अनुसार काम गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् ।

यता बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले भने व्यवसायीहरुको पक्षमा देखिएका छन् । उनले ५० मिटर भन्दा ३२(१६–१६) मिटर मात्रै सडक विस्तार गर्नु उपयुक्त रहेको धारण ब्यक्त गरे । उनले हेटौँडाको मुख्य बजार क्षेत्रमा पर्ने राजमार्गलाई राष्ट्रिय राजमार्गको सूचीबाट हटाउन पहल भइरहेको बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, कांग्रेस मकवानपुरका जिल्ला सदस्य आनन्दराम पराजुली लगायतको टोलीले मुख्यमन्त्री पाण्डेसमक्ष हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक केन्द्रबाट १६–१६ मिटर मात्र सडक चौडा गरी बाइपास सडक निर्माणका लागि पहल गर्न माग गरेका थिए ।

सडक बिभाग, आयोजना निर्देशनालय (एडीबी)ले पछिल्लो पटक गत २०७८ साउन १७ गते पथलैया–हेटौंडा–नारायणगढ सडक खण्डको सडक क्षेत्राधिकार खालीगर्न सूचनाजारी गरेको थियो । त्यस यता सर्वोच्चमा मुद्दा विचारधिन रहेकोले काम सुरु हुन सकेको छैन । विभिन्न ब्यक्तिको भाषण र सञ्चारमाध्यको समाचारको कारण चर्चामै सिमित छ ।