काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ । एनएसजेएफले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा पर्ने ५ खेलाडीको नाम सार्वजनिक गरेको हो । फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा मनोनयनमा परेका छन् ।
पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् । पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको छ । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको छ ।
काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड फागुन २३ गते हुनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा पिपल्स च्वाइस अवार्डसँगै ९ विधामा अवार्ड प्रदान गरिने छ ।
वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ। वर्ष खेलाडी पुरुष, महिला,युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने जनाईएको छ ।
मनोनयन नहुने विधाहरु लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ। वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ।
यसपटक वर्षका युवा खेलाडीलाई पनि मोटर साइकल प्रदान गरिने एनएसजेएफले जनाएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।