प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

बढ्यो चामलको भाउ

२०७९ माघ १०, मंगलबार ०३:०२ बजे

काठमाडौँ – हरेक वर्ष नयाँ धान भित्र्याएपछि बजारमा चामलको भाउ घट्ने गरे पनि यो वर्ष भने बढेको छ। गएको असोजयता चामलको मूल्य प्रतिबोरा पाँच सय रुपियाँसम्म बढेको छ। विगतका वर्ष नयाँ धान आउँदा प्रतिबोरा चार सय रुपियाँसम्म घटेर आउने गरेकामा यस पटक भने मिलवालाको मनोमानीका कारण भाउ घट्नुको सट्टा बढेको खुद्रा व्यापारी बताउँछन्।

नेपाल खुद्रा व्यापार सङ्घका महासचिव अमूलकाजी तुुलाधरले यो बेलामै चामलको मूल्य बढेपछि उपभोक्ताको गुनासो आउने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “अघिल्ला वर्ष मङ्सिरदेखि नै नयाँ धानको चामल बजारमा आउने भएकाले मूल्य घट्थ्यो। यो वर्ष माघको दोस्रो सातासम्म आइपुग्दा पनि मूल्य घट्नुको सट्टा झन् बढेर आउने गरेको छ।” मिलवालाले नै चामलको मूल्य बढाएको अवस्थामा सरकारका नियमानकारी निकायले खुद्रा पसलमा अनुगमन गर्ने गरेको उहाँको गुनासो छ।

सङ्घका अनुसार गएको असोजयता प्रतिबोरामा पाँच सय रुपियाँसम्म बढेको छ। सबभन्दा सस्तो सोना मनसुली चामल प्रतिकेजी ६५ रुपियाँ रहेको छ भने सबभन्दा महँगो लङग्रेन बासमती चामल प्रतिकेजी १६० रुपियाँ रहेको छ। जिरा मसिनो चामल प्रतिकेजी ९०–९५ रुपियाँ रहेको जनाएको छ। गोरखापत्र दैनिकबाट