प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

‘नेपथ्य’ हेटौंडासहित १० शहरमा गुञ्जिने

२०७९ भाद्र ६, सोमबार १७:५२ बजे

हेटौंडा – फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले हेटौंडामा कन्सर्ट गर्ने भएको छ । हेटौंडा–९ लामसुरेधापमा रहेको मानवसेवा आश्रमको आयोजनामा ‘नेपथ्य’ले हेटौंडामा कन्सर्ट गर्ने भएको हो ।

मानवसेवा आश्रमले विभिन्न जिल्लामा निर्माणधिन शाखा भवनको लागि अक्षय कोष स्थापनाको लागि देशको प्रमुख शहरहरुमा ‘मानवताको लागि सङ्गीत’ कार्यक्रमहरु गर्ने कार्यक्रम अन्तर्गत नेपथ्यले हेटौंडामा पनि कन्सर्ट गर्न लागेको हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार ‘मानवताको लागि सङ्गीत’ सांगीतिक टुर मंसिर १६ गतेबाट शुरु हुनेछ । पुष १६ गतेसम्म चल्ने सांगीतिक प्रस्तुति देशको १० प्रमुख शहरहरुमा हुनेछ । जस अन्तर्गत हेटौंडामा मंसिर २२ गते भुटनदेवी चौरमा हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

नेपाली दर्शक तथ स्रोतामा रुचाइएको नेपाली व्याण्ड ‘नेपथ्य’को सांगीतिक प्रस्तुति मंसिर १६ गते बिराटनगर, १९ गते विरगंज, २२ गते हेटौंडा, २५ गते नारायणगढ, नेपालगंजमा मंसिर २९ गते, पुष ३ गते धनगढीमा,६ गते सुर्खेत, ९ गते बुटबल, १२ गते पोखरा र कांठमाण्डौमा पुष १६ गतेका लागि तय गरिएको श्रमका अध्यक्ष अधिकारीले जानकारी दिए ।