काठमाडौँ – भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ।
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाक्लो हुस्सुका कारण हेलिकोप्टर जमिनमा ठोक्किएको थियो। लगत्तै आगलागी हुँदा सात जनाको मृत्यु भएको हो।
हेलिकोप्टर स्थानीय समयअनुसार मंगलबार बिहान ११ बजेर २५ मिनेटमा केदारनाथ बेस क्याम्पबाट नारायण–गुप्तकाशीका लागि उडेको थियो। उडेको १५ मिनेटपछि गरुडचट्टीनजिकै दुर्घटना भएको थियो।
ज्यान गुमाउनेहरू तीन जना गुजरातका, तीन जना तमिलनाडुका र एक जना महाराष्ट्रका हुन्। भारतीय राष्ट्रपति द्रौपति मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।