प्रहर खबर
 २०८१ जेठ ९, बुधबार    

हेटौंडामा दुई लाख राशिको खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने

२०८० जेठ १४, आईतबार १२:४६ बजे

हेटौंडा – हेटौंडामा खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा यही जेठ १६ गतेदेखि हुने लागेको हो ।

आयोजकले आइतबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगितामा दशवटा टिमको सहभागिता रहने जनाएको छ । हेटौंडा–४ स्थित हुप्राचौरको भलिबल कोर्टमा हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित आयोजक मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता हुने टोलीले नगद दुई लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद एक लाख प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टोलीले नगद ५०/५० हजार हात पार्ने छन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरूले जनही नगद ५/५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सञ्चालनमा हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती, हेटौंडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ।