प्रहर खबर
 २०७९ असार १२, आईतबार    

फिफाको महिला वरीयतामा नेपालको एक स्थान सुधार

२०७९ असार ३, शुक्रबार १८:२६ बजे

हेटौंडा – फिफा महिला फुटबल वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १०१ औं स्थानमा उक्लेको छ ।

अघिल्लो पटकको वरीयतामा नेपाल १०२ औं स्थानमा रहेको थियो । नेपालको १ हजार १ सय ९६ अंक रहेको छ । दक्षिण एसिया नेपाल भारतपछि दोस्रो स्थानमा छ भने एसियामा २१औं स्थानमा छ ।

दक्षिण एसियाको पहिलो स्थानमा रहेको भारत फिफा वरीयतामा ५६औं स्थानमा छ । भारतको १ हजार ४ सय २५ अंक रहेको छ । त्यस्तै बंगलादेश १४६ औं, श्रीलंका १४९ औँ, माल्दिभ्स १५३ औँ र भुटान १७२ औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा अमेरिका २ हजार १०५ अंक सहित शीर्ष स्थानमा यथावत छ । यस्तै स्विडेन दोस्रो, फ्रान्स तेस्रो स्थानमा रहदा जर्मनी चौंथो र नेदरल्यान्ड्स पाँचौं स्थानमा रहेको छ । त्यस्तै क्यानडा छैठौं,  स्पेन सातौं, इंग्ल्यान्ड आठौं,  ब्राजिल नवौं र उत्तर कोरिया १० औं स्थानमा रहेको छ ।