हेटौंडा – बागमती प्रदेश सरकारमा नेकपा एमाले प्रवेश गरेसंगै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मन्त्री बनेका छन् । थपलियाले आर्थिक मामिला तथा विकासमन्त्रीको शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार थपलियालाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका हुन् । थपलियाले शनिबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
थपलिया आफ्नो ५ बर्षे कार्यकालमा दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि २०७९ पुस २६ मा पनि उनी आर्थिक मामिलामन्त्री बनेका थिए ।
बदलिएको सत्ता समीकरण अनुसार मुख्यमन्त्री जम्कट्टेलले सरकारमा साझेदार दलहरुलाई सहभागी गराएका हुन् । यस अघि २ सांसद रहेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।
बागमती सरकारको १२ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित ४ वटा रहेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले २ वटा सम्हालिरहेको छ भने हाम्रो नेपाली पार्टी १ वटा । अब बाँकी पाँच वटै मन्त्रालयमा एमालेले दाबी गरेको छ ।
मुख्यमन्त्री जम्कट्टेलले १९ गते विश्वास मत लिने कार्यतालिका तय भएको छ ।