प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

नागरिकता दुरूपयोग गरी ठगी, कम्पनीका सिइओ सहित तीन जना पक्राउ

२०७९ भाद्र २, बिहीबार १३:१४ बजे

हेटौंडा – हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरूषको नागरिकता हराएको थियो । उक्त नागरिकता फेला पारेका उनीहरुले २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राईभेट कम्पनी दर्ता गरेको गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र बैदेशिक रोजगारीमा रसिया पठाई दिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै अन्य व्यक्तिलाई ठगी गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूमध्ये प्रदिप उक्त कम्पनीको सिइओ, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका निर्वाह गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।