प्रहर खबर
 २०८१ मंसिर २८, शुक्रबार    

बागमती नदीमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता

२०८० भाद्र २८, बिहीबार १४:४५ बजे

पटना – भारत बिहारको मुजफ्फरपुरस्थित बागमती नदीमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता भएका छन् । अधिकारीका अनुसार अहिलेसम्म १५ देखि २० जनाको उद्धार गरिएको छ ।

मुजफ्फरपुरका विपद व्यवस्थापन अधिकृत अजय कुमारले पत्रकारहरूसँग घटनाबारे भने, “अहिलेसम्म १० जना बेपत्ता छन्, १५–२० जनाको उद्धार गरिएको छ । थप व्यक्तिको खोजी कार्य जारी छ ।”

उनले भने, “घटना आज बिहान १०ः३० देखि ११ः०० बजेको बीचमा भएको हो । राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बल को टोली घटनास्थलमा पुगी उद्धारका सम्भावित सबै पहलहरू गरेको थियो । अझै पनि बेपत्ताहरूको खोजी कार्य जारी छ ।”

बिहारका मुख्यमन्त्री नितिश कुमारले पीडितका परिवारलाई सहयोग गरिने बताएका छन् । उनले पत्रकारहरूसँग भने, “मुजफ्फरपुरका जिल्ला प्रशासकहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । यस दुर्घटनामा परी घाइते भएकाहरूको परिवारलाई सरकारले सहयोग उपलब्ध गराउनेछ ।”