हेटौंडा – प्रहरी कानुनको रक्षक, तर एक हवल्दारले कानुनलाई हातमा लिएका छन् । मानव वेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी हवल्दार जितेन्द्र महत्तोले दुई पुरुष र एक नाबालिकामाथि कुटपिट गरेका हुन् ।
जितेन्द्रले बाराको बाराढी गाउँपालिका वडा नं.५ सिहांसनीका ५० बर्षीय शुखल महत्तो, उनका भाई ४० बर्षीय राजेन्द्र महत्तो र राजेन्दकी १३ बर्षीय बविता महत्तोमाथि निर्घात रुपमा कुटपिट गरेका हुन् ।
जितेन्द्रले आइतबार दिनदाहडै आफु प्रहरी भएको दम्भ देखाउँदै गाउँले समाजकै अगाडी शरिरीक रुपमा अपाङ्गता भएका शुखल महत्तोलाई हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन् । घाइते तीनै जनालाई कोहलवीस्थित जननायक हस्पिटलमा उपचार भइरहेको छ ।
“शुखल, राजेन्द्र र बविताको अस्पताल उपचारका लागि ल्याउँदा बेहोस र स्वास्थ्य अवस्था गम्भीर थियो,” जननायक अस्पतालका डाक्टर अशोक कुमार साहले भने, “उनीहरुको उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।”
छुट्याउन गएका शुखलका भाई राजेन्द्र र उनकी नाबालिका छोरी बविता समेतलाई बेहोस हुने गरी कुटपिट गरेका हुन् । कुटपिट गर्ने जितेन्द्र काका छोरा हुन् भने कुटाई खाने शुखल र राजेन्द्र ठुलो बुवाको छोरा हुन् । त्यस्तै नाबालिका बविता नाताले जितेन्द्रका भतिजी अर्थात छोरी पर्छ ।
जितेन्द्र घरायसी विषयमा बिवाद निकालेर दुई दाजु र भतिजीमाथि कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । विगत पाँच बर्षदेखि घरजग्गा लगायतको बिषयलाई लिएर जितेन्द्र आफ्नो ठुलो बुवाको सन्तानसंग झै–भगडासंगै कुटपिट गर्दै आइरहेको स्थानीयहरुको भनाई छ ।
“विगत पाँचदेखि घरासयी बिषयमा हाम्रो परिवारको सदस्यसंग झगडा गर्यो, मौका पाई हाल्यो कि मेरो अपाङ दाजुलाई कुटपिट गरि हाल्थ्यो, त्यति बेला ठुलो घटना हुनबाट जोगाउँथे” पीडितका भाई रामबाबु महत्तोले प्रहर खबरसंग भने ।
“म मलेशिया आएको पाँच महिना भयो, म विदेश आएपछि मेरो दाई र भतिजालाई बेहोस हुने गरी कुटेछ, अब मेरो परिवारलाई त्यसले कुन बेला मार्छ, थाहा छैन,” उनले दुखेसो पोखे । कुटपिट भएकै समयमा स्थानीयले प्रहरीलाई गरेपनि घटनास्थलमा आएर रित्तो हात फर्किएको पीडित परिवारले बताए ।
पीडित परिवारका सदस्यमा कानुनको बारेमा सामान्य ज्ञान नहँदा प्रहरीमा उजुरी समेत दिन सकेका छैन । “थोरै भएपनि केही जानकारी मलाई थियो, म विदेशमा छु, अझै उजुरी दिन सकेको छैन,” रामबाबु महत्तो भने ।
उनले जनप्रतिनिधि, गाउँका सरोकारवाल ब्यक्तिहरुलाई आफ्नो परिवारका न्यायका लागि कानुनी सहायताको लागि आग्रह समेत गरेका छन् । कुटपिट गर्ने जितेन्द्रमाथि प्रचलित कानुन बमोजिम कारवाही हुनु पर्ने पीडित परिवारको माग छ ।
प्रहरी हवल्दार जितेन्द्र महत्वले आफ्नो आमा र श्रीमतिमाथि कुटपिट भएपछि आफुले छुट्टीमा आएको बेला कुटपिट गरेको स्वीकार गरे । उनले यो आफ्नो परिवारीक बिषयमा कसैले हस्तक्षेप नगर्न चेतावनी समेत दिए । यो बिवाद आफुहरु छलफलबाट मिलाउने उनको भनाई थियो ।
इलाका प्रहरी कार्यालय बाराढीका वरिष्ठ नायव निरीक्षक(बरिष्ठ सर्ई) वसन्त थापाले कुटपिटको घटनाको जानकारी प्राप्त भएपनि उजुरी नआएको बताए । बाँधेर कुटपिट गर्ने छुट नभएको भन्दै उनले उजुरी आएपछि कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने बताए ।