प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

यातायात व्यवसायमाथि २०७५ को कालो बादल

२०७९ मंसिर १७, शनिबार १५:२९ बजे

हाम्रो देशको यातायातका साधनहरुमध्ये प्रमुख यातायातको साधन भनेपनि वा निर्विकल्प यातायातको साधन भनेपनि सडक यातायात नै हो । भूपरिवेष्ठित राज्यका नागरिक हामी यो बाध्यताबाट सधैं रहनु नै पर्छ, कुनै अलौकिक चमत्कार भए अलग कुरा हुनसक्छ नभए पुस्तौं पुस्तासम्म यस्तै रहने हो, अर्को विकल्प छैन । सडकमा गुड्ने सार्वजनिक सवारीहरु मालवाहक, यात्रुवाहक र पेट्रोलियम ढुवानीका साधन नै प्रमुख हुन् ।

मानिसको आवतजावतदेखि खाद्यपदार्थ, औषधि, दुग्धजन्य पदार्थ, कृषिउपज र विकास निर्माणका सामग्रीहरु ओसारपसार गर्ने निर्विकल्प माध्यमको रुपमा रहेको सार्वजनिक यातायात र यही यातायातले लाखौं परिबारको दैनिक जीवनयापन भइरहेको छ । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको सार्बजनिक यातायातमा राज्यको लगानी शुन्य छ ।

यातायातको क्षेत्रमा समयसापेक्ष व्यवस्थापनका निम्ति संस्थागत पहल सांगठनिक स्वरुपको आवश्यकता टड्कारो रुपमा आजभन्दा ४३ बर्षअघि नै महसुस गरी अग्रजहरुबाट स्थापना भएको यस नारायणी यातायात व्यवसायी संघले विभिन्न किसिमका आरोह अवरोहको सामना गरेर अघि बढ्दै गर्दा देशकै सबैभन्दा ठूलो र अग्रणी संस्थाको रुपमा परिचय बनायो । यो हामी सबैको गर्वको विषय हो ।
तर, २०७५ सालको सुरुवातबाट नै यातायात क्षेत्रमा मडारिएको कालो बादलले यातायात क्षेत्रमा ठूलो आपत विपद आइलाग्यो, यसबाट हामी अछुतो रहने कुरै भएन । नेपाल सरकार यातायात व्यवस्था विभागबाट सरोकारवालालाई पूर्ण रुपमा वेवास्ता गरी “यातायात व्यवस्थापन कार्यविधि निर्देशिका (संशोधित २०७४)” जारी गरेपछि २०७५।०१।०४ गते मन्त्रिस्तरीय निर्णयबाट संस्था दर्ता ऐन २०३४ अन्तर्गत स्थापित यातायात क्षेत्रका संघसंस्थालाई नवीकरण नगर्ने निर्णय गरेको थियो ।

साविक नारायणी यातायात व्यवसायी संघको पूर्ण बैठकले मिति २०७५।०३।२२ गते निर्णय गरी भगिनी संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको नारायणी संघ हेटौंडा र २०७५ फागुन १९ गतेको राजपत्रमा प्रकाशित भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ अनुरुप नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनीको रुपमा स्थापना भएको पुरानो नारायणी यातायात कम्पनी प्रा।लि। विधिवतरुपमा स्थापित भई संचालन हुंदै आएको छ ।

संघबाट हुंदै आएको कामकाजमध्ये विविध कारणले गर्दा ढुवानी तथा तौलपुलसम्बन्धी गतिविधि सिथिल छन्, हामी ढुवानी तथा तौलपुलसम्बन्धी कार्यक्रमलाई पूनर्जागृत गर्ने प्रयास गरिरहेका छौं । सवारी दुर्घटनापश्चात घाइते तथा अंगभंको औषधिउपचार, मृतकका पीडित परिवारतर्फ पुर्याउनुपर्ने सेवा, सवारीधनीलाई दुर्घटना पश्चात आइपर्ने समस्यामा सहकार्य, आफ्नो सवारी तथा तेस्रोपक्ष सवारी मर्मतमा सहयोगलगायतका कार्य नारायणी संघ हेटौंडाबाट हुंदै आएको छ ।

यात्रुवाहक सवारी संचालन तथा व्यवस्थापनको कार्यहरु पुरानो नारायणी यातायात कम्पनी प्रा।लि।बाट हुंदै आएको छ । नेपाल सरकारले यातायात क्षेत्रका संघ संस्थाको नवीकरण नगर्ने निर्णयसंग यस संघको नवीकरण नभईरहेकोमा नेपाल सरकारको यस्तो अत्यन्त निर्मम निर्णयका विरुद्ध नेपाल ट्रक यातायात व्यवसायी महासंघले सर्बोच्च अदालतमा मुद्धा दायर गरेको मुद्दाको अन्तिम किनारा लाग्न बाँकी नै छ ।

यस कारणलाई लिएर हाल आएर नेपाल सरकारले नेपाल ट्रक यातायात व्यवसायी महासंघ मातहतका संघसंस्थाको विषयमा सर्बोच्च अदालतले निर्णय नगर्दासम्मका लागि संस्था नवीकरण गर्ने मन्त्रिपरिषदबाट निर्णय भएको छ । सोही निर्णयका आधारमा यस संघको २०८० असार मसान्तसम्मका लागि नविकरण भई सकेको यहाँहरुमा जानकारी गराउन चाहन्छु ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको नेतृत्व परिवर्तन भई वर्तमान नेतृत्वको पहलकदमीमा मन्त्रिपरिषदबाट निर्णय गराई महासंघ मातहतका सम्पूर्ण संघसंस्थाको नविकरण हुने निर्णय गराउन सफल हुनुभएकोमा महासंघको नेतृत्वपंक्ति धन्यवादका पात्र छन् । विगत बर्षहरुमा संघको नवीकरण नभएको, संघले कुनै पनि कामकाज गर्न नसकेको विषयमा विस्तृत जानकारी भईसकेको छ ।

विगतका वर्षहरुमा यस संघले पुरानो हिसाव कितावको दायित्व फरफारक गर्ने वाहेक अन्य कामकाज गरेको छैन । आजको दिनमा संघको नवीकरण भएको हुँदा अवका दिनमा संघलाई अगाडि बढाउने विषयमा गम्भिरतापूर्वक छलफल होस् । मालवाहक ढुवानीतर्फ हामीले बर्षौंदेखि काठमाडौं लगायत ठूला सहरमा ट्रकपार्कको व्यवस्थाहोस् भनि बारम्बार आवाज उठाउंदै आइरहेका छैं ।

हेटौंडाको थानाभर्याङमा रहेको ट्रकपार्क पनि खारेजीमा परेको विडम्बना त छँदैछ । तथापी, खासगरी हेटौंडा क्षेत्रकै व्यवसायीको पहलमा हेटौंडामा ट्रकपार्क आवश्यक छ भन्ने आवाजलाई बागमती प्रदेश सरकारले सम्बोधन गरेको अवस्था छ । बागमती प्रदेश सरकारले हेटौंडा कै उपयुक्त स्थानमा रिफ्रेस सेन्टर सहितको ट्रकपार्क बनाई दिने गरी बजेट छुट्याईसकेको छ, र सम्भावित स्थानको रुपमा बसामाडी तीनताप्केस्थित राप्ती नदीछेउको खुलाचौर प्राथमिकतामा परेको पनि हामीले जानकारी पाएका छौं ।

हामीले खेप्नु परेको अनेक सास्तीमध्ये हाल आएर कर कार्यालयले दिएको सास्ती पनि आर्थिक हिसावले पीडादायी नै छ । कर कार्यालयले हामीलाई बारम्बार फुल अडिटमा राखेको छ । फुल अडिट कै क्रममा आ.व. २०७२/०७३ भन्दा अघिको तौलपुलको कारोबारमा भ्याट लाग्छ भनि भ्याट रकम झण्डै ९२ लाखको मुद्धा आन्तरिक राजश्व विभागमा रहेको छ । आ.व.२०७३/०७४ भन्दा अघिका वर्षको विभिन्न शीर्षकको करको मुद्दा झण्डै १ करोड ३५ लाख रुपैयाँको मुद्दा राजश्व न्यायाधीकरणमा रहेको छ ।

हाल आएर आ.व.२०७४/०७५ को हरहिसावमा बसको ट्रिप शुल्कमा भ्याट र अन्य शीर्षकमा कर गरेर ३ करोड ३० लाख रुपैयाँ बराबरको मुद्धा आन्तरिक राजश्व कार्यालय हेटौंडाले उठाई सकेको अवस्था छ ।

यसका विरुद्धमा आन्तरिक राजश्व विभागमा मुद्दामा जानका निम्ति पनि २५ प्रतिशत धरौटी राख्नु पर्ने अवस्था सिर्जना भएको छ । २०७४ साल पुस २६ गते भएको यस संघको ३१ औं वार्षिक साधारणसभा एवम् १५ औं अधिवेसनबाट निर्वाचित यो कार्यसमितिले यहाँहरुले दिनुभएको जिम्मेवारी पुरा गर्दै आजको दिनसम्म आइपुगेका छौं ।

निर्वाचित कार्यसमिति र विधानतः मनोनित कार्य समिति सदस्य समेत गरी २९ जनाको कार्यसमिति रहेकोमा का।स।स। देउतामणि उपाध्यायको निधन भएको, का।स।स। रमेश खत्रीले राजिनामा दिनुभएको, का।स।स। सुरेन्द्र पाण्डे, अविनाश गजुरेल र पुरुषोत्तम रिजाल लामो समयदेखि अनुपस्थित रहनुभएको छ ।

यस संघको २०७५ पुस २८ गते ३२ औं, २०७६ माघ ११ गते ३३ औं र २०७७ चैत्र ७ गते ३४ औं बार्षिक साधारणसभा सम्पन्न भईसकेको छ । ३४ औं बार्षिक साधारणसभा पश्चात विभिन्न मितिमा गरी १० पटक यस संघको कार्यसमितिको बैठक बसी संघको लागि तत्काल आवश्यक परेका निर्णयहरु गरिएको छ ।

(नारायणी यातायात व्यवसायी संघको ३५ औं वार्षिक साधारणसभामा महासचिव सरोजकुमार खनालले प्रस्तुत गर्नुभएको प्रतिबेदनको संपादित अंश–सम्पादक)