काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छन्।
वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएको बताइन्।
उनले नेपालको नक्सामा ती भूभाग समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतनाको सञ्चार भइरहेको उल्लेख गरिन्।
‘भौगोलिक अखण्डता र देशप्रेमप्रतिको अटल विश्वास प्रदर्शन भइरहेको छ, नेपाली भूभागको यस विषयलाई व्यावहारिकरूपमा निष्कर्षमा लैजान इतिहासका प्रसंगलाई हामीले फेरि एकपटक उच्च महत्वका साथ स्मरण गर्नुपर्छ,’ उनले भनिन्।
दुई देशबीचको भौगोलिक सीमानालाई पूर्णरूपमा चुस्त र स्पष्ट राख्नुपर्ने खाँचो आवश्यकता औंल्याउँदै पूर्वराष्ट्रपति भण्डारीले यस्ता कार्यले दुई देशबीच सदियौँदेखि रहिआएको जनविश्वासका रूपमा रहेको सांस्कृतिक र कूटनीतिक सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।