प्रहर खबर
 २०८० मंसिर २५, सोमबार    

साफ यु १९ च्याम्पियनसिप: उपाधिमा भारतको ह्याट्रिक

२०८० आश्विन १३, शनिबार २०:२५ बजे

काठमाडौं – यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । दशरथ रंगशालामा शनिबार भएको फाइनलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो ।

यससंगै साफ यु १९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो । २०१५ को पहिलो र २०१७ को दोस्रो संस्करणमा नेपालले यु १९ को उपाधि जितेको थियो ।

भारतलाई जित दिलाउन मागेथाङ किपगेनले दुई गोल गरेका थिए भने अर्को गोल गोगोसर गोएरीले गरेका थिए । खेलको ६३ मिनेटसम्म गोल रहित बराबरी खेलेको पाकिस्थान त्यसपछि तीन गोल खान पुगेको हो ।

खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाका थिए । डिबक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत बनेको थियो । त्यस्तै खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत ब्यक्तिगत दोस्रो गोल गरेका थिए ।

इन्जुरी समयमा उनै किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए । भारतले पेनाल्टी सुटआउटमा नेपाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

यु १९ को पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको पाकिस्तान सेमिफाइनलमा सडनडेथमा भुटानलाई पराजित गरेको थियो । तर पाकिस्तानले फाइनलमा सोचे अनुरुप प्रर्दशन गर्न सकेनन । प्रतियोगितामा श्रीलंका बाहेक दक्षिण एसियाका ६ टोलीको सहभागिता थियो । बंगलादेश र माल्दिभ्स समूह चरणबाट बाहिरिएका थियो ।