हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको स्वर्ण काठमाडौंले जितेको छ । बिहीबार हेटौंडास्थित गौरीटार रंगशालामा भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित गर्दै स्वर्ण जितेको हो ।
काठमाडौंले पहिलो र दोश्रो हाफमा समान १–१ गोल ग¥यो । विजयी टिमका लागि सुजिता घलानले १० औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएकी थिइन् । काठमाडौंका लागि दोश्रो गोल मनीषा थापा मगरले ५८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् ।
काठमाडौंकी सरिता ऐर दुई व्यक्तिगत विधामा पुरस्कृत भइन् । सरिता प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उत्कृष्ट फर्वाड घोषित भइन् । उत्कृष्ट गोलरक्षकमा काठमाडौंकी झरना नगरकोटी, डिफन्डरमा सिन्धुलीकी सन्जिता मगर तथा प्रशिक्षकमा काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट चुनिए ।
प्रतियोगिता अवधिभर ४ गोल गरेकी काठमाडौंकी मनीषा थापा मगर सर्वाधिक गोलकर्ताको घोषित भइन् ।
विजेतालाई सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकी मन्त्री कुमारी मोक्तान, बागमती प्रदेशकी सांसद् स्वरुपा भुजेल, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका सचिव रामकृष्ण पुडासैनी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीलगायतले पुरस्कृत गरे ।
प्रतियोगिताको महिला फुटबलतर्फ ९ जिल्लाले सहभागिता जनाएको थियो ।