प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

साफ च्याम्पियनसिप: नेपाल पाँचौं पटक पनि चुक्यो, बंगलादेशलाई उपाधि

२०७९ आश्विन ३, सोमबार १३:२६ बजे

हेटौंडा – साफ महिला च्याम्पियनसिप फुटबलको छैठौँ संस्करणको उपाधि बंगलादेशले जितेको छ ।

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई र शामसुनाहरले एक गोल गरिन् । नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् ।

खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाईन् ।

७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याईन । तर, खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–१ को जित दिलाईन् ।

बंगलादेश महिला साफ च्याम्पियनसिपको नयाँ च्याम्पियन बन्दा नेपाल भने पाँचौं पटक फाइनलमा चुकेको छ । यसअघि नेपालले २०१०, ०१२,०१४ र ०१९ को साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । सो चार वटै फाइनलमा भारतसंग पराजित भएको थियो ।