प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

बारा बस दुर्घटना अपडेट : मृत्यु भएका १६ जनाकै सनाखत (नामसहित)

२०७९ आश्विन २०, बिहीबार १३:४९ बजे

हेटौंडा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारामा भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका १६ जनाको सनाखत भएको छ । उपचारका क्रममा मृत्यु भएका १६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शंकर रहेका छन् ।

त्यस्तै हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोम प्रसाद चौरसिया रहेका छन् ।

घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन, आठ जनालाई वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको थियो । शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै मोडमा बिहीबार बिहान दुर्घटना भएको थियो।