प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मैत्रीपूर्ण भलिवल फाइनल समिकरण पूरा

२०८१ पौष १२, शुक्रबार २०:४९ बजे

हेटौंडा – मनहरी गाउँपालिकाले आयोजना गरेको वडास्तरीय शिक्षक मैत्रीपूर्ण भलिवल प्रतियोगितामा मनहरी–४ र ३ को फाइनलको समिकरण तय भएको छ ।

शुक्रबार रोटरी माविमा आयोजना गरिएको खेलमा मनहरीका १० वटा टिमले सहभागिता जनाएका थिए । वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने शिक्षकहरुबीच खेलाइएको खेलमा ६ नं. वडाबाट २ वटा र बाँकी वडाबाट एक/एक टिम सहभागी थिए । सेमिफाइनलमा मनहरी ४ ले ८ नं. वडाको टिमलाई र ३ नं.ले ७ नं. वडाको टिमलाई पराजित गरी फाइनल यात्रा तय गरेका थिए ।

मनहरी गाउँपालिका शिक्षा समितिका संयोजक तथा मनहरी–३ का अध्यक्ष अनन्तप्रकाश अर्यालको सभाध्यक्षता, गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुखआतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मनहरी गाउँपालिकाका वडाध्यक्षहरु, गाउँपालिका शिक्षाप्रमुख प्रदीप पराजुली, स्रोतशिक्षक बिदुर थापा, रोटरी मावि ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँ, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता थियो ।

यस्तै मनहरी गाउँपालिकाले पुस १३ गते शनिबारदेखि राष्ट्रपति रिनङ शिल्ड प्रतियोगिता संचालन गर्ने भएको छ । गाउँपालिकाभित्रका करिब १८ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाउने खेल पुस १५ गते समापन हुने बताइएको छ । विद्यालयस्तरका सबैभन्दा ठूलो खेलकुद प्रतियोगिातको तयारी पूरा भएको रोटरी माविका सहायक प्रधानाध्यापक साधुराम रिजालले जानकारी दिए ।