प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

हेटौंडामा हुने महोत्सवको उद्घाटन मुख्यमन्त्रीले गर्ने, २५ करोडको कारोबार हुने अपेक्षा

२०७९ माघ १०, मंगलबार १८:५० बजे

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि हेटौंडामा सुरु हुने १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को तयारी पुरा भएको छ ।

जिल्लामा उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित आयोजना हुने उक्त मेलाको तयारी पुरा भएको मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

माघको २३ गतेसम्म हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने मेलामा ३ सय ३७ वटा स्टल रहने मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले जानकारी दिए । ३० वटा होटल, अटोजोन १० वटा, डोममा निर्मित बिषेश प्रकारका ६ वटा विभिन्न व्यापारीक स्टलहरु रहेको अध्यक्ष अग्रवालले बताए ।

उनका अनुसार करिब एक सय स्टल जिल्ला बाहिरका ब्यापारीको रहेका छन् भने बाँकी स्टल जिल्लाभित्रकै रहेका छन् । स्टललाई श्रेणीमा विभिजन गरेर स्थानीय स्तरका उत्पादनलाई प्राथमिकता दिएर ५० प्रतिशत छुट समेत दिईएको उनले बताए ।

कृषि खाद्य दैनिक उपभोग्य वस्तुहरु, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादित सामानहरु, होटल, आइटी, शैक्षिक संस्था, दैनिक निःशुल्क स्वास्थ्य शिविर, अटो सवारी साधन, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका स्टलहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको स्टल एंव महोत्सवमा बाल उद्यान, विभिन्न कलाकारहरुको साथमा मनोरन्जन तथा चेतनामुलक सामाग्रीहरु मेलाका आकर्षक हुने अग्रवालले बताए ।

स्थानीय स्तरमा उत्पादन भएको चुच्चेखोलाको खुवा, राक्सिराङको गिठ्ठा, भ्याकुर, डोको, डालो, नाङ्लो, खुर्पेटो तथा रैथाने बालीहरु कोदो, फापर, गेडागुडी लगायत प्रर्दशन तथा विक्री स्टल रहेको उपाध्यक्ष उज्जल चौलागाईले बताए ।

त्यस्तै हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेका छन् । तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०/३० हजार, द्वतियले २०/२० हजार र तृतियले १०/१० हजार र सान्तोना हुनेले ५/५ हजार प्राप्त गर्ने चौलागाईले बताए ।

उनले महोत्सबमा मनोरञ्जनका लागि विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रत्येक दिन प्रस्तुति रहने बताए । मेलामा प्रवेशका लागि टिकटको मुल्य रु ५० तोकिएको छ भने विद्यार्थी सहुलियत टिकटको व्यवस्था गरिएको बताए ।

माघ ११ गते २३ गतेसम्म (१३ दिन) सञ्चालन हुने व्यापार मेला २० देखि २५ करोडको कारोबार हुने आयोजकको अनुमान छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री रालिकराम जमरकट्टेलले महोत्सव उद्घाटन गर्ने तय भएको छ । 

महोत्सवलाई सफल बनाउनका लागि हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, विभिन्न निजी उद्योग, संघसंस्थाहरु सहयोग रहेको छ ।