हेटौंडा – साविक बिजेता पिप्ले युवका क्लब छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । उपविजेता तथा आयोजक बागमती युवा क्बललाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले पराजित गर्दै पिप्ले युवा क्लब फाइनलमा प्रवेश गरेको हो ।
सर्लाहीको स्व.सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पिप्लेका लागि अशोक खवास, दिपजंग कार्की, रितिक खड्का र विदेशी खेलाडी माटिनले गोल गरेका थिए ।
बागमतीका लागि अनिल राना र आयुश राना मगर गोल गर्दा इमान घलानको प्रहार बाहिरिएको थियो भने अमर श्रेष्ठको प्रहार पिप्लेका गोलरक्षक अनिस देउलाले बचाउँ गरेका थिए ।
खेलका म्यानअफ द म्यच पिप्ले युवा क्लबका गोलरक्षक अनिस देउला घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे ।
पिप्ले उपाधिका लागि एडिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र सुदुरपश्चिम–११ बिचको विजेतासंग भिड्नेछ । बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १३ गतेका हुनेछ ।