काठमाडौं – राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा संलग्नता रहेको भन्दै बाराका एक वडाअध्यक्ष पक्राउ परेका छन् । कोल्हवी नगरपालिका वडा नं ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका हुन् ।
रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको सञ्चारमाध्यमले जनाएको छ ।
वन क्षेत्रमा लगाइएको बिरुवा अतिक्रमणकारीहरूले नष्ट गरेका थिए । राष्ट्रिय वन क्षेत्रभित्रको करिब ५ हेक्टर खाली भूभागमा केही शङ्कास्पद भूमाफियाहरुले वनको जग्गा अतिक्रमण गर्ने र सुकुम्वासी आयोगबाट पुर्जा लिने नियतले यसो गरेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।
वडाध्यक्ष चौधरी गएको बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।