प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

जो चुनावमा हार्छन्, उसैलाई जिताउने ठेक्का

२०७९ आश्विन ६, बिहीबार १०:०८ बजे

हेटौंडा – नेकपा एमालेले मकवानपुरमा 'जो चुनावमा हार्छन्,उसैलाई जिताउने जिम्मा' दिएको छ । गएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित अनन्त पौडेललाई निर्वाचन परिचालन कमिटीको जिम्मेवारी दिएको हो ।

पौडेल गत बैशाखको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरकी मेयर मिना कुमारी लामासंग पराजित भएका थिए । लामासंग पौडेल २१ सय ६७ मतले पराजित भएका थिए ।

नेकपा एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य समेत रहेका पौडेलको संयोजकत्वमा ७५१ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरेको हो । निर्वाचन परिचालन कमिटीको सह संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचीवमा जिल्ला सचीव नवीन सिग्देल चयन भएका छन् ।

कमिटीका सदस्यहरुमा नेकपा एमालेका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्लाका विभागका सदस्यहरु, भातृ सङ्गठनका केन्द्रीय सदस्य, प्रदेश कमिटी, एमालेका पालिका स्तरीय कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषद, कम्युनिस्ट मन्च, निर्वाचित पालिका प्रमुख उप प्रमुख, जिफन्ट तथा पेशागत महासङ्घका सदस्यहरु, वडाध्यक्षहरुलगायत सदस्य रहने छन् ।

प्रतिनिधिसभा १ नम्बर क्षेत्रको संयोजकमा रामचन्द्र राई र सचीवमा अनिल बानियाँ, १ को क मा दिलबहादुर घिसिङ र सचीवमा कृष्ण प्रसाद चौलागाईं, ख को संयोजकमा रघुनाथ खुलाल र सचीवमा इन्द्र नेपाललाई एमालेले जिम्मेवारी प्रदान गरेको छ ।यस्तै प्रतिनिधि सभा २ नम्बर क्षेत्रको संयोजकमा सुवास चन्द्र ठकुरी संयोजक र सचीवमा मेम्बर लो, २ नम्बर क्षेत्रको क मा संयोजकमा बलराम बल र सचीव पार्बती राना, ख को संयोजकमा एकराज उप्रेती र सचिबमा नरेन्द्रलाल रिजाललाई तोकिएको छ ।