काठमाडौं – आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा 'नयाँ यात्राको सुरुवात' भन्दै प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर (पहिलो तस्बिर) सार्वजनिक गर्नुभयो।
दुई वर्षपछि बालकोट पुग्नुभएका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गर्नुभएको तस्बिर थियो । जुन दिन ओलीले प्रचण्डलाई प्रसन्न मुद्रामा स्वागत गर्नुभएको थियो, ठीक दुई वर्षअघि आजकै दिनको तस्बिर (दोस्रो तस्बिर) भने फरक थियो । दुई वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुग्दा प्रचण्ड र हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल 'हामी यहाँ छौं भन्ने नारा छातीमा टाँसेर माइतीघरमा सडक धर्नामा हुनुहुन्थ्यो ।
मल्लले सार्वजनिक गर्नुभएको उक्त तस्बिरले अघिल्लो तस्बिरलाई बहसमा ल्याएको छ । तर राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने मान्यताको तर्कले बहसको अन्त्य वा विषयान्तर गर्न सक्छ । ओली र प्रचण्डको 'सरप्राइज भने यो नै पहिलो होइन । राजनीतिका दुई चतुर खेलाडीले २०७४ मा 'सरप्राइज दिनुभएको थियो । जुन अहिलेको भन्दा बढी रोचक थियो। जति रोचक यात्रा ओली र प्रचण्डले थाल्नुभएको थियो, अन्त्य पट्यारलाग्दो थियो। नेकपाभित्रको लामो कलहमा कुनै पनि पक्षले विधिसम्मत रूपमा रोचक नतिजा दिन सकेनन् ।
नियमपूर्वक खेल नखेल्दा प्रचण्ड-माधव पक्ष 'फिनिसिङमा चुक्यो । आन्तरिक रूपमा बहुमतमा हुनुभएका प्रचण्ड - नेपाललाई थकाएर ओलीले एमालेको मूलधार जोगाउनुभयो तर पार्टी विभाजन भने टार्न सक्नुभएन ।
शान्तिपूर्ण राजनीतिमा अवतरणपछि प्रचण्ड जनमतका आधारमा पहिलो पटक स्वाभाविक प्रधानमन्त्री बन्नुभयो । आफैँ सम्मिलित गठनबन्धन तोडेर सरकारको नेतृत्वमा पुग्नुभयो । सरकारमै सहभागी भइरहेको बेला सत्ता सहयात्रा गरेको दललाई सुइँकोसमेत नदिई फेरि एमालेसँगको गठबन्धनमा २०७४ मा जोडिनुभयो । 'सरप्राइज डिल' पार्टी एकतासम्म पुग्यो तर पाँच वर्ष पनि टिकेन ।
आवरणमा सर्वोच्च अदालतको फैसला भए पनि पार्टी विभाजनको राजनीतिक आवरण बनिसकेको थियो । उसो त प्रचण्डले २०६४ को निर्वाचनमा तेस्रो भएको एमालेका लागि दुई जना प्रधानमन्त्री हुने अवसर प्रदान गर्नुभयो । एमालेका तत्कालीन नेता झलनाथ खनाललाई प्रधानमन्त्री बन्न प्रत्यक्ष सहयोग गर्नुभयो । माधव नेपाललाई प्रधानमन्त्री बन्न भने प्रत्यक्ष सहयोग रहेन । माओवादी सरकार ढल्दा नेपालले मौका पाउनुभएको थियो ।
झलनाथलाई प्रधानमन्त्री बनाएपछि प्रचण्डले देखाइदिएको टिप्पणी गर्नुभयो । अहिले पनि बेलाबेलामा उक्त निर्णयलाई 'सरप्राइज दिएकै बताउनुहुन्छ । एमालेसँगको सम्बन्धमा तिक्तता रहेका बेला माओवादीले पटक-पटक प्रधानमन्त्री बनाउन सहयोग गरेर गुन लगाएको भन्न भ्याउनुहुन्छ । यस पटक उक्त गुन फिर्ता लिएर प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ ।
राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने मान्यताअनुसार नै दुई दल मिलेर अन्य दलको समेत सहमतिमा सरकार गठनतर्फ अग्रसर छन् । एकीकृत भएर नेकपा बनेको केही अवधिबाहेक एमाले- माओवादी सम्बन्ध भने उति सुमधुर रहेको छैन । विशेषतः ओली र प्रचण्डका सार्वजनिक वक्तव्यसमेत एकअर्का व्यक्ति र दलप्रति कतिपय अवस्थामा अस्वाभाविक पनि रहे । तर दुई वर्षअघि सडकबाट ओलीलाई खोजी गरिरहेका प्रचण्डको हात बालकोट पुगेर मिल्यो र त्यो दिन आज नै पर्यो । तर यही प्रकरणमा एमालेबाट बाहिरिएका माधवकुमार नेपाल भने फेरि एक पटक बाहिरै पर्नुभएको छ ।नारायण काफ्ले/आजको गोरखापत्र दैनिकमा समाचार छ ।