प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म

२०७९ कार्तिक ३०, बुधबार १७:३० बजे

काठमाडौं – नेपालको पहिलो बैंक कुन होला ? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्– नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ ।

नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकभन्दा पनि जेठो यस बैंकले अनेकन घुम्ती, मोड र सुखदुःख व्यहोरेको छ । बैंकिङ प्रणालीको सामान्य सिद्धान्तविपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ ।

सो बैंकका वित्तीय विवरणले पनि अब सबल संस्थाका रुपमा नेपाल बैंक आफ्नो गन्तव्यमा स्पष्ट छ भन्ने सन्देश दिएको छ । विसं १९९४ देखि २०१३ सम्म देशको केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको गौरवपूर्ण इतिहास यसले बोकेको छ ।

नेपाली बजारमा भारतीय रुपियाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन् ।

विसं १९९४ कात्तिक ३० गते सोमबार लक्ष्मीपूजाका दिन स्थापना भएको सो बैंक आज (बुधबार)देखि ८६ वर्षमा प्रवेश गरेको छ । नेपालको समग्र आर्थिक एवम् वित्तीय क्षेत्रको एउटा ऐनाका रुपमा रहेको बैंकले विगतमा अनेकन आरोह अवरोह भोगेको छ ।

बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गर्नुभएको थियो । विश्वव्यापी रुपमा बैंकिङको अभ्यास धेरै पहिले भए पनि नेपालमा भने २०औँ शताब्दी कुर्नुपरे पनि नेपालको नामसँगै जोडिएको यो बैंक सार्वजनिक निजी साझेदारीमा ढाँचामा सुरु भएको पहिलो वित्तीय संस्था हो ।

स्थापना गर्दा बैंकमा १० जना लगानीकर्ता थिए । सुरुवाती वर्षमा रु. आठ लाख ४२ हजार चुक्तापुँजी र रु. १७ लाख निक्षेपबाट सुरु भएको बैंकले गत असोज मसान्तसम्म रु. एक खर्ब ९७ अर्ब बराबर निक्षेप सङ्कलन गरेको छ । त्यस्तै, रु. एक खर्ब ७३ अर्ब ५४ करोड बराबरको कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो ।

छयासी वर्ष पहिले सुुरु भएको सो बैंकको चुक्ता पुँजी हाल रु. १४ अर्ब ४० करोड बराबर छ । हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैंकको जगेडा कोषमा रु. २१ अर्ब ६८ करोड बराबरको रकम छ । कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ ।

प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्नुहुन्छ, “हामी अस्तिभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील छौँ ।”

बालक, वृद्ध, प्रौढ हुँदै ज्येष्ठ नागरिकको रोजाइमा रहेको भन्ने दाबी गर्ने बैंकमा हाल २३ लाखभन्दा बढी ग्राहक जोडिएका छन् । एकाध वर्ष पहिलेसम्म पनि निजी क्षेत्रका अन्य बैंकले अत्याधुनिक प्रविधिको सुरु गर्दासमेत सो बैंक परम्परागत  रुपमा नै ढड्डामा नै आधारित थियो । समय बदलियो, बैंकको नेतृत्व बदलियो, सोच र योजनामा पनि परिवर्तन आयो । फलस्वरुप नेपाल बैंकले पनि आधुनिक बैंकिङ प्रणाली अवलम्बन गर्‍यो । बैंकिङ क्षेत्रमा उपलब्ध सबै प्रकारका सेवा उपलब्ध गराइरहेको सो बैंकले डिजिटल बैंकिङ सेवा पनि प्रदान गरेको छ । कुल दुई सय २६ शाखामार्फत कारोबार गर्दै आएको सो बैंकले एक सय १९ एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

आधुनिक प्रविधिसँगै बैंकमा युवा पुस्ताको प्रवेशले बैंकलाई गतिशील व्यावहारिक र प्रविधिमा पनि उत्तिकै निपुण बनाएको बैंकका सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीको भनाइ छ । बैंकमा कार्यरत जनशक्तिको औसत उमेर ३६ वर्ष छ भने राज्य अँगालेको समावेशितालाई पनि उत्तिकै आत्मसात् गरेको छ ।

कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथकिताप्राप्त क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको छ । युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैंकले अन्य संस्थाको तुलनामा महत्त्वपूर्ण योगदान दिएको छ । अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमार्फत व्यवस्थित गरी नेपालमा बैंकिङ संस्कृतिको सुरुवात गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो आर्थिक आर्थिक विकास र समृद्धिका लागि सरकारले लिएको लक्ष्य र योजनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।