प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

उपराष्ट्रपति महिला हुनुपर्छ: कमल थापा

२०७९ फाल्गुन २७, शनिबार ०४:१२ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले उपराष्ट्रपतिमा महिला हुनु पर्ने बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुकबाट यस्तो बताएका हुन् ।

संविधानको छिद्र खोजेर अहिले जे जस्तो व्याख्या गरिए पनि संविधान निर्माण गर्दा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुने सर्वसम्मत निर्णय,मान्यता र सोचाई हो। गलत परम्परा नबसालौँ। राष्ट्रपति पुरुष निर्वाचित भैसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्छ। महिलाको अधिकार नखोसियोस्, – उनले लेखेका छन् । 

आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । उउपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले आज निर्देशन दिइसकेको छ । आयोगको यो निर्णयले दलहरू अलमलमा परेका छन् । दलहरूले उम्मेदवार टुङ्गो लगाएको छैन ।

आजै उम्मेदवारी दर्ता गर्नुपर्ने भएपछि दलहरू छलफलमा जुटेका छन् । उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न र उम्मेदवारको टुङ्गो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्ने भएको छ । सत्ता गठबन्धनका दलहरू पनि बिहानैदेखि छलफलमा जुट्ने भएका छन् ।