प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा 'अल्पमत' र 'बहुमत' को फोहोरी खेलः एमाले बैठक छोड्ने, गठबन्धन नाता तोड्ने

२०७९ असार ७, मंगलबार १४:०७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा गठबन्धन र नेकपा एमालेका जनप्रतिनिधिबिच बहुमत र अल्पमतको खेल सुरु भएको छ । नीति तथा कार्यक्रम सम्बन्धी छलफल कार्यपालिका बैठकमा बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्तावमा बहुमतमा रहेको एमाले र अल्पमतमा रहेको गठबन्धनका जनप्रतिनिधिबिच वाद-विवाद भएको छ ।

कार्यपालिकाको २९ मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको थियो । 

एमालेले ल्याएको संशोधन प्रस्तावले आफ्नो अधिकार कटौती गरेको भन्दै मेयर मिना कुमारी लामासहित अरूले असहमति जनाए । गठबन्धनका जनप्रतिनिधिहरुले असहमति जनाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक नै बहिस्कार गरे ।

संघीय कानुन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ४ को ब्यवस्था भएको ब्यवस्था संसोधन गर्नु पर्ने एमालेका कार्यपालिका सदस्यहरुले माग राखेका थिए । मागको विषयमा मेयर–उपमेयर लचिलो नभएको भन्दै एमालेका कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका थिए । बैठकमा कार्यबिधि संसोधन प्रस्ताब दर्ता समेत गर्न नमानेको उनिहरुको आरोप छ ।

अल्पमतमै बजेट पारित
मेयर मिना कुमारी लामाले बहुमत सदस्य रहेको एमालेका जनप्रतिनिधि बिनानै आगामी आर्थिक २०७९/८० को नीति तथा कार्यक्रम बजेट कार्यपालिकाबाट पारित गर्ने निर्णय गरेकी छन् । एमालेले बैठक बहिस्कार गरेपछि मेयर लामाले अल्पमतमै आगामी आर्थिक नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गर्ने निर्णय गरेकी हुन् ।

उपमहानगरका प्रवक्ता सविन न्यौपाने बैठकमा उपस्थित कार्यपालिका सदस्यहरुले बैठक छाडेर गएपछि उपमहानगरका योजना, बजेट, सूचना तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका थिए । नीति, कार्यक्रम तथा बजेटको मस्यौदा छलफलपछि नगरप्रमुख लामाले नगर परिषदमा पेश गर्ने निर्णय गरेकी हुन् ।

नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिहरुमार्फत आउनुपर्ने प्रक्रियाअनुरुप नल्याइएको हेटौंडा १० का वडाअध्यक्ष फुर्वा दोर्जे लामाले बताए । सोही बिषयमा बिमति जनाउँदै बैठक बहिष्कार गर्नु परेको उनको भनाई छ ।

उपमहानगरको ५ वटा विषयगत समितिहरु गठन हुन सकेको छैन । मेयर र उपमेयरको संयोजकत्वमा रहने समितिले पनि पूर्णता पाउन सकेको छैन । हेटौंडा उपमहानगरपालिका आगामी आर्थिक वर्ष २०७९/८० का लागि साढे २ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउने तयारी छ ।