हेटौंडा – हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा उद्घाटन गरिएको प्रथम प्रदेश खेलकुद प्रतियोगितामा आजबाट भलिबल र क्रिकेट खेल पनि सुरु हुँदैछ । भलिबल माडी खेलकुद मैदान र क्रिकेट निर्माधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन हुने खेलकुद विकास परिषद् बागमती प्रदेशले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत हिजो (आईतबार) पुरुष फुटबल र ब्याटमिन्टन खेल सुरु भएको थियो । फुटबलमा ललितपुरले चितवनमाथि १–० गोलको जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
आज फुटबलतर्फ आज दुई खेल हुँदैछ । हेटौंडा–४ पिप्ले क्याम्पा रंगशालामा हुने पहिलो खेलमा समुह ख बाट रामेछाप र सिन्धुपाल्चोक जिल्लाबिच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल समुह क बाट दिउँसो ३ बजे घरेलु टोली मकवानपुर र नुवाकोट जिल्लाबिच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै आईतबार हेटौंडास्थित थानाभर्याङ् कर्भड हलमा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
एकल खेलाडी र डबल खेलाडीबीच खेल खेलाइएको थियो । महिला तर्फभने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक,नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको थियो । आज बिहानबाट क्वाटरफाइनलका खेल खेलाइने सुरु भएको छ ।
मकवानपुरमा हुने खेलमध्ये फुटबल र व्याडम्निटन खेल सुरु भएको छ भने चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ ।
त्यसैगरी सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ । काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ । साथै, काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुनेछ । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ । प्रतियोगितामा २ हजार भन्दाबढी खेलाडीको सहभागिता रहेका छ ।