प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

एक वर्षपछि नायक पल शाह थुनामुक्त

२०७९ फाल्गुन १५, सोमबार ०६:२१ बजे

काठमाडौं – अभिनेता पल शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै उनी सोमबार रिहा भएका छन् । नाबालिक बलात्कारको आरोपमा गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् ।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्नै गएका थिए । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका छन् ।

सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । कारागार परिसरमा भेला भएका समर्थकहरुले चर्को नारा लगाएका हुन् । रिहा भएपछि उनी काठमाडौँ आउने बुझिएको छ ।

शाह कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ भएर उच्च अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएपछि रिहा भएका हुन् ।

नवलपुर जिल्ला अदालतले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि नायक शाहले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए। सो रिट निवेदनमाथि कामु मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पुडासैनीका बेञ्चमा बहस पैरवी भएर सफाइ दिइएको हो।

२०७८ फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए। पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उनका बुवाले समेत दुवै अदालतमा बलत्कार नभएको भन्दै बयान फेरेका थिए।

अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले माघ ३ गते सफाइ दिएको थियो। जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो। जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको थियो। जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो।