चितवन – चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई अहिले रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षका सुवास रेग्मी रहेका छन् ।
आज बिहान चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रेग्मीसँग रहेका पर्यटक भने सकुसल रहेका छन् ।