प्रहर खबर
 २०७९ असार १२, आईतबार    

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

२०७९ जेठ ३१, मंगलबार १७:५६ बजे

काठमाडौं – नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। अर्को बैठक असार १ गते बिहान ११ बजे बस्ने बताइएको छ।

नेकपा एमालेले सोमबार र मंगलबारको बैठकको सुरुवातमा अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता गराएको भन्दै आपत्ति जनाएको थियो। उसले अर्थमन्त्रीको जवाफ र राजीनामा पनि माग गरेको थियो। मंगलबारको बैठकमा शर्माले जवाफ दिएका थिए।

त्यसपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट बनाउने ठाउँको सीसीटीभी फुटेज ल्याएर देखाउन भनेका थिए। उनले योभन्दा ठूलो गद्दारी अरु नहुने बताएका थिए। उनले संसदीय छानबिन समिति गठन भएपछि मात्रै सदन अगाडि बढ्ने बताए।

 त्यसपछि एमालेका सांसद्हरु यथास्थानमा उठेका थिए। सभामुखले बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका थिए। तर एमालेका सांसद्हरुले अस्वीकार गरिरहे। त्यसपछि बैठक स्थगित भएको थियो।